बर्दिवास - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन्।
महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आएका सभापति देउवाले आज (बिहीबार) बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।
“अहिले विपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,” सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, “यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत र उद्धारका काममा लाग्नुहोस्।”
अरू सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफूले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ। पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आफूसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए।
आफू विपत् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएकाले अहिले राजनीतिक कुराबारे जिज्ञासा नराख्न पार्टी कार्यकर्ता र सञ्चारकर्मीलाई देउवाले पहिले नै आग्रह गरेका थिए। सभापति देउवाको निरीक्षण टोलीमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, आनन्दप्रसाद ढुङ्गाना र पार्टी जिल्ला सभापति महेन्द्रकुमार रायसहितका नेताहरू सम्मिलित हुनुहुन्छ।
नेपाली कांग्रेसका सभापति देउवाको आज बाढी र डुबानबाट अति प्रभावित औरही नगरपालिकाको श्रीपुर, पिपरा गाउँपालिका र जिल्ला सदरमुकाम जलेश्वर पुग्ने कार्यक्रम रहेको महोत्तरीका सभापति रायले जानकारी दिए। (रासस)