पोखरा - गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले हिजो मंगलबार प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणीकरण गरेका हुन्।
गण्डकी प्रदेश सभाको गत असार २० गते बसेको बैठकले पारित गरेका ती विधेयकलाई प्रदेशसभा सचिवालयले गत असार २६ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। दुवै विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम सभामुख नेत्रनाथ अधिकारीले असार २० गते नै प्रमाणित गरेका थिए।
नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने उल्लेख छ। प्रदेश प्रमुख कुँवरले प्रदेश सभाका सभामुखबाट प्रमाणित दुवै विधेयकका पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन्।