सिड्नी – अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरूमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको जनाइएको छ।
अस्पताल एवं स्वास्थ्य केन्द्रहरूका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूका मजदूर युनियनका करिब ५ सयजना प्रतिनिधिले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ।
उनीहरूले आगामी अगष्ट १ तारिखमा ४ घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ । उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा सुरक्षाको माग गरेका छन्। थप सुरक्षा व्यवस्था नहुँदासम्म आफूहरूले काम नगर्ने उनीहरूले जनाएका छन्।
न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भने, अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँमाथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ।
हामीले अहिले जे देखिरहेका छौँ, त्यसलाई आधारभूत रूपमा नै परिवर्तन गर्ने बेला हो यो– उनले भने। मजदूर प्रतिनिधिहरूले अति भएर नै यो मतदान गरेको उनको भनाइ थियो । उनले थप २ सय ५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरूले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि जानकारी दिए।
एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४ सय ६५ वटा आक्रमणका घटना भएका थिए। पहिलोपटक वर्ष दिनमा यति धेरै आक्रमणका घटना भएकाले आफूहरूमा असुरक्षा महसुस भएको पनि उनले बताए। उनले गएको जनवरी महिनामा एक जना मानसिक सन्तुलन गुमाएका बिरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै बिरामी र कहिलेकाहीँ बिरामीका आफन्तहरूले पनि स्वाथ्यकर्मीहरूमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिए।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवं सबै कर्मचारीमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरूले विगत लामो समयदेखि बताउँदै आएका छन्। यहाँका चिकित्सकहरूले आफूहरूले जहिले पनि बिरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरूको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन्।
उनीहरूले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका बिरामीहरूलाई कुनै पनि किसिमको अप्ठेरो नपार्ने नीति आफूहरूको रहेको पनि बताएका छन्। (रासस/सिन्ह्वा)