कराँची – पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरूका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ।
पाकिस्तान र भारतबीच उत्पन्न तनावका कारण पाकिस्तानले भारतसमेत सबै मुलुकका गैरसैनिक विमानको पाकिस्तानी आकाश हुँदै उडानहरूमा प्रतिबन्ध लगाएको थियो। पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए)ले सबै प्रकारका गैरसैनिक उडानका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ।
सीएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए। गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी विमानका लागि प्रतिबन्ध लगाएको थियो।
पाकिस्तानले केही प्रतिबन्धहरू मार्चमै फिर्ता लिए पनि भारतसँगको तनाव मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन। पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए। पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो। (रासस/एएफपी)