तेहरान – इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। उनले भने– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दी हटाउँछ भने हामी उनीहरूसँग वार्ताको टेबलमा बस्न तयार छौँ।
हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अमेरिकाले अरूलाई होच्याउने काम छोड्नुपर्छ र हामीमाथि लगाइएका नाकाबन्दीहरू सबै खारेज हुनुपर्छ, राष्ट्रपति रौहानीले आइतबार जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ।
अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उनले बताएको इरानी समाचार समिति मेहर न्युज एजेन्सीले जनाएको छ। सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरू जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरू नेताले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो विवादबाट आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।
उनीहरूको सो प्रतिक्रियापछि आइतबारै इरानी राष्ट्रपति रौहानीको सो भनाइ बाहिर आएको छ। उनले यसअघि जस्तै आइतबार पनि इरान सधैँ वार्ताको पक्षमा रहेको धारणा राखेका हुन्। गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रूपमा तोडेको थियो। सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रूपमा नाकाबन्दी लगाएको थियो।
अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो । यसैकारण गएका केही महिनायता अमेरिका र इरानबीचको विवाद झन् बढ्दै गएको छ। इरानमाथि युरोपेली राष्ट्रहरूले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन्।
यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गरेको अनुमान गरिएको छ। इरानको यो वार्ता प्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। (रासस/सिन्ह्वा)