काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज (आइतबार) यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले संविधानको नेतृत्व गर्ने कांग्रेसले संविधानअनुसार पार्टी संरचनामा लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।
“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचनामा जान नसक्नु दुखद कुरा हो,” नेता सिंहले भने, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन।”
नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानवअधिकार विधेयक, मिडिया काउन्सिल लगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय–मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्वविहीन जस्तो बन्न पुगेको आरोप लगाए। उनले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिए।
कार्यक्रममा नेता सिंहले ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई पार्टीको सदस्यता, दोसल्ला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए। सो अवसरमा कांग्रेसका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लीलाबल्लभ दाहाल लगायतको उपस्थिति थियो। (रासस)