ढाका – बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ। सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए।
एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिएका थिए। सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य भएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो। पछिल्लो समय जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उनका पूर्वसहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए।
सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लवमार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए।उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो। सन् १९९० को दशकमा सत्ताच्यूत भए पनि उनको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो।
एर्साद वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो। एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि थिए, जहाँबाट उनले लगातार ६ पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। (रासस/एएफपी)