काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा सांसद महेश बस्नेतले सरकारले बाढीपहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन्। उनले भने, ‘अहिले केन्द्रीय राहत व्यवस्थापन समितिको बैठक जारी छ। सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ।’
सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको जनाउँदै बस्नेतले भने, ‘सरकारले त्रिपाल, खाद्य सामग्री, पानीको उचित व्यवस्थालगायत सबै तयारी अवस्थामा राखेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायत सबै तयारी अवस्थामा छन्।’ उनले आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने जनाए।
उनले भक्तपुरमा यो वर्ष हनुमन्ते खोलाको बाढीले विगतजस्तो ठूलो क्षति नपुर्याएको दाबी गरे। उनले आफूहरुले बाढी व्यवस्थापनको लागि योजना बनाएर काम गरेकोले यो वर्ष त्यस्तो ठूलो क्षति नभएको स्पष्ट पारे।
उनले भने, ‘अघिल्लो वर्ष १ सय १३ मिलिलिटर पानी पर्दा पनि क्षति भएको थियो, तर यो वर्ष १३२ मिलिलिटर पानी पर्दा पनि ठूलो क्षति भएको छैन। भक्तपुरमा अहिले खास क्षति र डुवान छैन।’ सरकारले खोला तथा नदीको छेउमा तटबन्ध निर्माण गरेको र पानीको बहाव नियन्त्रण गर्ने काम पनि गरेको सुनाए। बाढी तथा पहिरोका कारण अवरुद्ध रहेका सबै सडक तथा राजमार्गहरु सुचारु गर्ने काम पनि तीव्र गतिमा भइरहेको उनले सुनाए।
अहिले सबै नेपालीहरुले बाढीपहिरोमा परेका पीडितहरुलाई उद्धार तथा राहत गर्नुपर्ने बेला भएकोले सोही अनुसार सबै दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गर्नुपर्ने बस्नेतको भनाइ छ।