काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढीपहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ। हामी हात फुकाएर सहयोग गर्छौं। राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्योभन्दा अझै धेरै बढी रहेको सुनाए। उनले भने, ‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन।’
सरकारले बाढी तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भइरहेको उनको गुनासो छ। उनले भने, ‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ। ढिला भइसक्यो। २० दिनपछि राहत दिएर हुँदैन।’
पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयंसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाइ छ। उनले भने, ‘हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार नेता तथा कार्यकर्ताहरुलाई परिचालित हुन आह्वान गरिसकेका छौँ। कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ।’
उनले असार, साउनमा त सधैं बाढी पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दै पनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए। उनले थपे, ‘असार र साउनमा बाढी र पहिरो आउँछ भन्ने कुरा त सरकारलाई थाहा छ नि, तर पनि यसको व्यवस्थापनमा हामी किन लाग्दैनौँ?
दिर्घकालीन रुपमा यसको समाधान खोज्नुपर्छ। यसको लागि जोखिमपूर्ण बस्ती राम्रो ठाउँमा सार्नुपर्छ। जनताको पक्षमा जोसुकै सँग पनि कुरा गर्न आँट हुनुपर्छ।’ उनले नेपालबाट गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्नेमा सरकारले त्यो पनि नगरेको गुनासो पोखे।
यसअघिका सरकारले त बाढी, पहिरो व्यवस्थापनमा ठोस कदम चाल्न नसके पनि अहिलेको दुई तिहाई बहुमतको सरकारले पनि दिर्घकालीन योजना बनाएर व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ। उनले भने, ‘पूर्वाधारमा के के गर्नुपर्छ, तटबन्ध निर्माण गर्नुपर्ने हो कि, वा अन्य आवश्यक के के गर्नुपर्ने हो, त्यो सबै गर्नुपर्छ। यसमा ढिलाई गर्नुहुँदैन।’
फरक प्रसँगमा उनले वर्तमान सरकारले अत्यधिक धेरै गलत काम गरेको आरोप लगाए। उनले भने, ‘यो सरकार अहिले नांगिएर प्रस्तुत भएको छ। प्रधानमन्त्रीलाई महत्वपूर्ण कुरै थाहा हुँदैन, अनि सार्वजनिक रुपमा माफी माग्नुहुन्छ। खुलेआम भ्रष्टाचार भएको छ। कतिसम्म भने भ्रष्टाचारीलाई यही सरकारले संरक्षण गरेको छ।’
सरकारका गलत कामकारबाहीबारे कांग्रेसले राजपा नेपालसँग सहकार्य गर्ने पनि उनले विश्वास दिलाए। उनले भने, ‘हामीले सरकारका गलत कामहरुको खबरदारी गरिरहेका छौँ।’ आफूहरुले उठाएका मुद्दा सम्बोधन नभएसम्म संसद अवरुद्ध भइरहने उनको चेतावनी थियो। कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अविरल वर्षाले ठूलो जनधनको क्षति भएकाले उद्धार तथा राहतमा जुट्न सबैसँग आग्रह गरे। उनले राजनीतिक दलहरुले पनि आफ्ना नेता तथा कार्यकर्ता विलम्ब नगरी परिचालन गर्नुपर्ने बताए।