काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवं प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहिँ हामी गर्दैनौँ, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन। अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु। भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो। हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ। भारतलाई सरापेर हुँदैन।’
उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भने, ‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ। बेपत्ता भएकाहरुका खोजी कार्य तत्काल शुरु गर्नुपर्छ। र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ।’ झाले अहिले पनि ठूलो संख्यामा मानिसहरु बाढी तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाइ राखे।
सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आए पनि अहिलेसम्म राहतको घोषणा नभएकाले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्न पनि उनले सरकारलाई आग्रह गरे। उनले सिंगो रौतहट डुबानमा परेको सुनाउँदै बाढी पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे। उनले थपे, ‘ईतिहासमा योभन्दा ठूलो बाढी कहिल्यै आएको थिएन। यो वर्ष ठूलो बाढी आयो। ठूलो क्षति भएको छ।’
बाढीपहिरो पीडितहरुलाई उद्धार तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालन गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरेको झाको भनाइ छ। उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे। उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र सो क्षेत्रका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए। उनले भने, ‘म काठमाडौँमा छु, म यहीँ बसेर पनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु। सरकारसँग निरन्तर सम्पर्कमा छु। भारतीय राजदुतसँग पनि कुरा गरिरहेको छु। प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन। तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु।’
फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए। त्यस्तै, उनले ईस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे।