विराटनगर - विराटनगर महानगरपालिका– १, पोखरीयास्थित परोपकार घाटछेउमा बसोबास गर्दै आएका ७ सुकुम्बासी परिवारले आफूहरूलाई घरजग्गाको उचित व्यवस्थापन गरिदिन माग गरेका छन्।
विराटनगर महानगरपालिकाले परोपकार घाटछेउमा सडकको जग्गा अनधिकृत रूपमा अतिक्रमण गरी घर टहरा निर्माण गरेर बसेको भन्दै त्यहाँबाट हट्न असार २३ गते ७ दिने सूचना जारी गरेपछि उनीहरूले आफूहरूलाई अन्यत्र जग्गा उपलब्ध गराइदिन माग गरेका छन्।
परोपकार घाट जाने मोडको सडकछेउमा घर टहरा निर्माण गरेर बस्दै आएका सातै परिवारले बिहीबार विराटनगमा पत्रकार सम्मेलन गर्दै त्यस्तो माग राखेका हुन्। स्थानीय सुकुम्बासी ६५ वर्षीय हसिना खातुनले वर्षातको मौसममा घरटहरा हटाउने पत्र आएपछि आफूहरू समस्यामा परेको बताइन्। उनले त्यस ठाउँमा आफूहरू ४० वर्षअघिदेखि घरटहरा बनाएर बस्दै आएको बताउँदै विकल्प दिएर मात्र आफूहरूलाई अन्यत्र सार्न माग गरिन्।
सोही ठाउँका युवा हुसैन शेखले परोपकार घाटवरिपरि ८० सुकुम्बासी परिवारको बसोबास रहे पनि ७ परिवारलाई मात्र विस्थापित गर्न खोजिएको आरोप लगाए। सुकुम्बासी समस्या समाधान आयोगबाट समेत आफूहरूले सुकुम्बासीको परिचयपत्र प्राप्त गरेको जानकारी दिँदै हुसैनले अन्यत्र जग्गा उपलब्ध गराइदिए आफूहरू सो ठाउँबाट घर हटाउन तयार रहेको बताए।