मेलम्ची – एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ। पछिल्लो एक साताबाट शुरु आयात कारोबार विस्तारै बढ्दै गएको छ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि ४ वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झन्डै ३ साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोबार हुनसकेको थिएन।
“चीनबाट सामान भित्रिन थालेको छ,” भन्सार अधिकृत केशवराज ओलीले भने। भन्सारले कारोबार शुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ। सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छन्। (रासस)