पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबारदेखि पोखरामा शुरु भएको ११औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री गुरुङले संघीयताको मर्म अनुसार खेलकुद क्षेत्रको विकास हुन नसकेको बताए।
केही नीतिगत विषयमा छिनोफानो हुन बाँकी रहेको बताउँदै उनले खेलकुदलाई व्यवसायीकरण गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए। उनले देशमा नै बसेर खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउनेलाई सम्मान गर्न र खेलकुदलाई व्यवसायिक बनाउन प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाए। ‘अहिले मुलुक संघीयता कार्यान्वयनको चरणमा छ,’ उनले भने, ‘तर संघीयताको मर्म अनुसार खेलकुद क्षेत्रको संरचना निर्माण भएको छैन। त्यसैले हामी अलमलमा छौँ।’
संघ र प्रदेश सरकारबीच संरचनात्मक समन्वय हुन नसक्दा खेलकुद क्षेत्रले गति लिन नसकेको मुख्यमन्त्री गुरुङको भनाइ थियो। ‘एक वर्षभित्र खेलकुद क्षेत्रले गति लिन नसकेकै हो। तर अब भने खेल क्षेत्रको समग्र विकासको लागि सरकार अगाडि बढ्छ,’ उनले भने। मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रदेश सरकार लागिरहेको बताए।
सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारले यसै वर्ष खेल एकेडेमी बनाउने र खेल क्षेत्रको विकासका लागि योजनाका साथ अगाडि बढ्ने जानकारी दिइन्। विद्यालय तहबाटै खेल क्षेत्रको विकास गर्न प्रदेश सरकारले बजेटमा पनि प्राथमिकता दिएको उनले बताईन्। ‘अब प्रदेश सरकारले विद्यालय स्तरबाटै खेल क्षेत्रको विकासका लागि योजनासहित अगाडि बढ्छ,’ उने भनिन्।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले विगतको भन्दा अहिले खेलकुद क्षेत्रमा सुधार आएको बताए। खेलकुद आर्थिक स्रोत जुटाउने माध्यम बनेको बताउँदै उनले यो क्षेत्र राम्रो स्तरमा पुगेको उल्लेख गरे।
प्रतियोगितामा प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ९ सय १३ जना खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु समावेश गरिएको छ। सबै खेलका विभिन्न इभेन्ट र तौल समूह गरी ४८ स्वर्ण, ४८ रजत र ६० कास्य गरी कुल १ सय ५६ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
भोलिसम्म चल्ने प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्ने जिल्लाले यस वर्षको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पार्नेछ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका खेलाडी तथा प्रशिक्षकलाई पनि प्रदेश सरकारको तर्फबाट भोलि नै नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिने छ।