काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आज बुधबारको बैठकमा चार विधेयक पारित भएका छन्। अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरू भएको थियो।
सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरू गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख महराले पटकपटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरू भएको थियो। विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाएका थिए।
सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ। विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालीनाथ योगीले दिए। राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १ बजे बस्ने छ। (रासस)