काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृह मन्त्रालयमातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई ‘बायोम्याट्रिक’ सूचनासहितको सो परिचयपत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि त्यस्ताे परिचयपत्र हस्तान्तरण गरियो।
नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत जनतालाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार परिचयपत्र वितरण कार्य जारी छ। विभागले हिजो सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ। आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यस्ताे परिचयपत्र वितरण गरिसक्ने योजना सरकारकाे छ।