काठमाडौँ – नेपालको १९ वर्षमुनिका खेलाडीहरूको क्रिकेट टोलीले एशियाली यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता २०१९ उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा नेपालले हङ्कङलाई पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ। प्रतियोगिता २८ अगस्टदेखि श्रीलंकामा आयोजन हुने छ। एशिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, बांग्लादेश र श्रीलंका समावेश हुनेछन्।
किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको हङ्कङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। हङ्कङका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले १० ओभर बलिङ गर्दै ५ मेडिन राखेर १८ रन दिए र ५ विकेट लिए भने कमल सिंह ऐरीले ३ विकेट लिए।
उपाधिका लागि ९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका ओपनर पवन सर्राफ र रित गौतमले ५२ रनको साझेदारी गरेका थिए। पवन ३९ रन र रित १३ रन बनाएर आउट भए। खडक बोहराले ८, कप्तान रोहित पौडेलले १२ तथा भिम शार्कीले ८ रनको योगदान दिए।