काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारतबीच खेल हुँदै छ । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ।
दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ। भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ।
जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ। भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ। भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ। इङ्ल्यान्डको आठ अंक छ।अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ।
घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ। विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन्। दुवै टोलीले तीन तीन खेल जितेका छन्। एक खेल अनिर्णित बनेको थियो। अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ। त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ।