काठमाडौँ - आज शनिबार भएको काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनको मतगणना शुरू भएको छ। २ हजार ६ सय ८ मतदातामध्ये १ हजार १ सय ५८ मत मात्र खसेको मतदान अधिकृत गणेशप्रसाद अधिकारीले जानकारी दिए।
१९ जनाको बार एशोसिएशन पदाधिकारीमध्ये सहसचिव र दुई जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। सहसचिवमा लक्ष्मी सापकोटा र महिला सदस्यद्वयमा प्रमिला कायस्थ र अञ्जना अर्याल निर्विरोध निर्वाचित भएका हुन्।
निर्विरोध निर्वाचित तीनै जना प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए) पक्षधर हुन्। डीएलएका तर्फबाट जगदीश घिमिरेको समूह निर्वाचनमा भाग लिएको छ भने प्रगतिशीलको तर्फबाट कुमार आचार्यको समूहले उम्मेदवारी दिएको छ। डीएलएका तर्फबाट १९ जनाकै उम्मेदवारी दिइएको थियो भने प्रगतिशीलको तर्फबाट कार्यसमितिमा पूरै पदाधिकारीका निम्ति उम्मेदवारी नदिइएको निर्वाचन अधिकृत अधिकारीले बताए।
यस निर्वाचनमा प्रजातान्त्रिक पक्षधर निर्वाचित हुने निश्चितजस्तै भएको काठमाडौँ जिल्ला बारका पूर्वसचिव पुष्पराम पौडेलले नेपाली पब्लिकलाई जानकारी दिए।