काठमाडौँ– भारतले विश्वकप क्रिकेटमा वेष्टइण्डिजमाथि १२५ रनको शानदार जित हात पारेको छ । भारतको जितमा कप्तान विराट कोहली र मोहम्मद समीले उत्कृष्ट प्रदर्शन गरे । यससँगै भारत सेमिफाइनल नजिक पुगेको छ भने वेष्टइण्डिजको अघिल्लो चरण पुग्ने सम्भावना लगभग सकिएको छ ।
म्यानचेष्टरमा २६९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज ३४.२ ओभरमा १४३ रन जोड्दा अलआउट भयो । उसको सुरुवात राम्रो रहेन ।
समीले पहिलो विकेटका रुपमा क्रिस गेलको विकेट लिँदा टिमको स्कोर मात्र १० रन थियो । उनी व्यक्तिगत ६ रनमा आउट भए । दोस्रो विकेटका रुपमा शाइ होपलाई ५ रनमा समीले बोल्ड गरेका थिए ।
सुनिल अम्ब्रिस र निकोलस पोरनले पारी सम्हाल्ने प्रयास गरे । दुबैले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । सुनिल २८ रनमा आउट भए । त्यसपछि वेष्टइण्डिजको विकेट झर्न क्रम रोकिएन ।
समीले १६ रन खर्चिएर ४ विकेट लिए भने जसप्रित बुमराह र युजबेन्द्र चाहलले २.२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।
सम्मानजनक स्कोर बनाउने क्रममा भारतका लागि कप्तान विराट कोहलीले ७२ रन बनाए । उनले ८२ बलमा ८ चौका प्रहार गरे ।