काठमाडौँ – नेपाली कांग्रेसका नेता देवराज चालिसेले अब नेपाली कांग्रेसको चालक नै फेर्नुपर्ने बताएका छन्। सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अब पार्टी यो तरिकाले चल्दैन। पार्टी चलाउने विधि र पार्टी चलाउने व्यक्तिका बारेमा सोच्नैपर्छ। केही कदम उठाउनैपर्छ।’
नेता चालिसेले कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंशः
नेपाली राजनीतिसँग जोडेर गिरिजाप्रसाद कोइरालाका बारेमा धेरै विश्लेषण आवश्यक छैन। तथापि, यहाँ एउटा अकबर र वीरबलको कथा उल्लेख गर्न मन लागेको छ। एकदिन वीरबललाई मूर्ख खोज्न भनिन्छ। उनी मूर्ख खोज्न हिँड्छन्। बाटोमा गधामाथि धोबी चढेको देख्छन्। धोबीले टाउकोमा घाँस बोकेकी थिइन्। वीरबलले धोबीलाई सोधे– होइन घाँस त गधाले बोकिहाल्छ नि ! धाबीले वीरबललाई जवाफ दिइन्– गधालाई भारी हुन्छ।’ ती धोबीजस्तै मूर्ख हाम्रो देशको प्रधानमन्त्री छन्– केपी ओली।
सपना हजार बाँडेका छन्। सारा बोझ बोकेका छन्। सबै आफूले धानेको जस्तो गरेका छन्। गधाको भारीजस्तै प्रमले पनि सबै आफूले बोकेको र धानेको जस्तो गरिराखेका छन्। सिटामोल १० वर्षसम्म सेवन गर्ने हो भने साइड इफेक्ट गर्छ भन्ने सुनेको छु। कहीँ उहाँमा पनि यस्तो त भएन? खुबै बरालिएको देखिन्छ। म स्वास्थ्य लाभको कामना गर्छु।
अर्को पनि मूर्खकै कथा छ। दुई जनाका बीचमा परलोकमा बाघ भएर जन्मिने भन्ने झगडा परेछ। एउटा म बाघ भएर जन्मिन्छु, तँ गाई भएर जन्मिस् भने म तलाई नै खाइदिन्छु। यस्तै यस्तै भन्दै उनीहरूमा झगडा भइरहेको यो लोकका लागि होइन कि अर्को जन्मका लागि रहेछ। यहाँ कम्युनिष्टहरूले सय वर्षपछि समाजवाद आउँछ भनेका छन्। पुँजीवादी क्रान्ति कहिले सम्पन्न हुन्छ? परलोकको सपना बाँडेर कम्युनिष्ट भोट माग्छन्। यी सबै मूर्ख हुन्। त्यस्तै अर्को एउटा मूर्खले अँध्यारोमा औठी हराएछ। हराएको औठी अँध्यारोमा नखोजी उज्यालोतिर खोज्दो रहेछ। यो मूर्ख नेपाली कांग्रेसजस्तो रहेछ। दिशाहीन मूर्ख।

कुनै दिन कमजोर देखिएको कम्युनिष्टले आजको दिनमा दुई तिहाइको सरकार बनाउन पुग्यो। यसको एकमात्रै कारण कांग्रेसले बीपी कोइरालाको विचार र बाटो बिराउनु हो। जुन दिन पार्टीको विचारमा क्षयीकरण हुन्छ, त्यही दिनबाट पार्टी कमजोर बन्छ। विचार र व्यवहारको तादात्म्यता मिल्नुपर्छ। बीपीले भनेका थिए, कांग्रेस र कम्युनिष्टलाई भोट हाल्नु एउटै हो भन्ने मानिस जब बुझ्न थाल्छन्, त्यसपछि आजको दिन आइलाग्छ। हामी कांग्रेसहरू कम्युनिष्टको व्यवहार, आत्मा र विचारमा प्रहार गर्न सक्दैनौँ केवल कपडामा हान्छौँ। जहाँ हान्दा ढल्छ, त्यहीँ हान्नुपर्छ । हाम्रो नेतृत्व यसमा चुकेकै छ।
व्यवहारले जनतालाई केही हदसम्म प्रभावित पार्न सकिएला तर विचार नै राजनीतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। कांगे्रस आत्मकेन्द्रित राजनीतिमा व्यस्त बन्यो। शक्तिमा केन्द्रित आफैमा भ्रष्ट हुन्छ। असीमित शक्तिले मानिसलाई बरालिने बनाउँछ। जुन बेला कांग्रेसमा हामी भन्ने भावना थियो। हिमाल, पहाड र तराईको भावना एउटै थियो। त्यसैले इतिहासको कालखण्डमा आजका दिनसम्म सबै परिवर्तनको जिम्मेवारी कांग्रेसले लियो। हामीले युद्ध जित्यौँ। तर, विडम्बना जुन दिनबाट कांग्रेसले ‘हामी’ छोडेर ‘म’ केन्द्रित भयो, त्यसै दिनबाट दूरीको शुरुआत भयो। म भन्ने भावना कांग्रेसको पहिलो समस्या हो। अब हामी भन्ने भावनालाई पुनः स्थापना गरौँ। कांग्रेसमा चाकडी मौलाएको छ। यो बन्द गरौँ। ठाडो शिर गरेर हिँड्न सक्नुहोस्। कांग्रेसलाई बिग्राने अरू पनि धेरै कारण छन्। चाकडीको आश र त्रास बन्द गर्नुहोस्। कांग्रेस बन्छ। अगाडि बढ्छ। सुदृढ हुन्छ।
आश र त्रासबाट मुक्त कांग्रेसले मात्रै देशको नेतृत्व लिन सक्छ। राजनीतिक क्षेत्रको नेतृत्व लिन सक्छ। कांग्रेसलाई सुधार्न धेरै कुरा छन्। त्यस्तै सत्ता पक्षले संसदमा के गरिरहेको छ? त्यो त हाम्रा सांसदलाई जानकारी होला। नेकपाको विकल्प कांग्रेस हो कि कोही अरू हो भन्ने परिसक्यो। तर, संसदमा हाम्रा साथीहरू जोडबलले प्रस्तुत हुनुभएको छ। कम्तीमा कांग्रेस जीवित छ। यसमा म खुसी नै छु। हाम्रो वैदेशिक नीति र विदेशीका कारण घरेलु राजनीतिमा धु्रवीकरण आएको छ।
आत्मबल कमजोर बनाएर लडाइँ लड्न सकिँदैन। हामी हिजो बदल्न सक्दैनौँ। इतिहास मेट्न सक्दैनौँ। भोलि त बनाउन सक्छौँ। किन कि आज हामीसँग छ। अंग्रेजीमा एउटा उखान छ ‘आई ह्याव’ मसँग छ। म गर्न सक्छु भन्ने भावना हुनुपर्छ। यति भएपछि ‘आई क्यान’ म गर्न सक्छु। त्यो कौशलता छ भने त्यसपछि ‘आई डू’ बल्ल याक्सन शुरु हुन्छ। जब याक्सन शुरु हुन्छ। त्यसपछि हामी काममा लाग्न सक्छौँ। अनि मात्रै कांग्रेसमा ‘आई एम’ लागू हुन्छ।
जनजागरण सम्पन्न भयो। जाँगर त चल्यो। तर, जगविनाको चल्यो। वडा छैन। २४ घन्टा नेतृत्वले कांग्रेसका बारेमा सोचेको भए बन्थ्यो। २४ घन्टा फुर्सद नहुनेले कांग्रेस हाँकिरहनुभएको छ। वैकल्पिक नीतिहरू ल्याउनुभएको छ। त्यसैलाई आधार मानेर पार्टीलाई महाधिवेशनमा लैजानुहोस्। लम्ब्याउने काम नगरौँ। यसरी पार्टी चल्दैन। व्यक्तिकेन्द्रित आशले पार्टी चलाउने काम नगरौँ। व्यक्तिले कांग्रेस चलाउनु हुँदैन। व्यक्तिले कांग्रेस चल्दैन। कांग्रेसलाई सदृढ गरौँ। चलायमान बनाऔँ।
अन्त्यमा, नेपालका बाटाहरूमा, सडकहरूमा गुड्ने ‘टोयोटा’ गाडीजस्तै हो– कांग्रेस। बलियो छ। मजबुत छ। तकडा गाडी हो कांग्रेस। बाटाहरूको स्थिति सबैलाई थाहा छ। घुम्तीहरू छन्। मोड छन्। उकालीओराली छन्। खाल्डा छन्। तैपनि गाडी चलाउनै पर्छ। हाम्रो र राम्रो टोयोटा गाडी कांग्रेस कहिल्यै भित्तामा ठोकिदिएको छ। कन्डक्टरले बढी भाडा उठाएको छ। केही आफ्नो खल्तीमा हालेको छ। खलासीले गलत इशारा गर्या छ। समस्या कांग्रेसको यही हो। गाडी राम्रो भएर मात्रै हुँदो रहनेछ। डेन्टिङ पेन्टिङ गरेर जागरण सम्पन्न गर्यौँ। तर, यसरी चल्दैन।
साथीहरू तथा पार्टीका नेतागणहरू ! तपाईं तयार हुनुहोस्। आजको दिन कसले ल्यायो? बीपी, कृष्णप्रसाद भट्टराई, गिरिजा, गणेशमानले ५० प्रतिशत सुम्पेको कांग्रेसलाई ५१/५२, ५३ प्रतिशत बनाएर पो लैजान्छ त। यहाँ त उल्टो घटाउँदै ६, ५, ४ मा पुर्याएपछि हालत योभन्दा खराब हुन्छ। अब कांग्रेस यसरी डेन्टिङ पेन्टिङले चल्दैन। आवश्यक पर्यो भने ड्राइभर, कन्डक्टर र खलासी बदल्नुपर्छ। अनि मात्रै कांग्रेसले आफ्नो असली स्वरूप धारण गर्न सक्छ।
(स्व. गिरिजाप्रसाद कोइरालाको ९५औँ स्मृति दिवसका अवसरमा जीपी कोइराला अध्ययन केन्द्रले २०७६ असार ९ गते आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता देवराज चालिसले सम्बोधन गरेको विचारको सम्पादित अंश)