वीरगन्ज – वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगन्जका ६ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ।
कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगन्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ। सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा उत्पादन मिति नराखेको तथा एमआरपी नराखेको कारण रु. ५० हजार जरिवाना गरिएको छ।
यसैगरी वीरगन्जकै नारायणी इन्टरप्राइजेजले उपभोक्तालाई ठग्दै आएको सूचना प्राप्त भएपछि अनुगमन कार्यमा असहयोग गरेकाले रु. १० हजार जरिवाना गरिएको सूचना अधिकारी दिलीपखंग खत्वेले बताए।
यस्तै कारवाहीमा परी जरिवाना तिरेका अन्य फर्ममध्ये हिमाल केमिकल एन्ड परफ्युमरी उद्योगलाई पनि अगरबत्तीमा एमआरपी नराखी उत्पादन गरेकाले रु. ५० हजार जरिवाना गरी कारवाही गरिएको छ।
वीरगन्जकै माईस्थानमा रहेको गणेश किराना स्टोरलाई उपभोक्ताले बिल माग्दा नदिएकाले रु. १० हजार जरिवाना गरिएको छ। यसैगरी बहुदरमाई नगरपालिकाको रामनगरी बजारमा रहेको निरञ्जन कोल्ड स्टोरलाई बिल नराखेकाले रु. ५ हजार जरिवाना गरी कारवाही गरिएको छ।
यसैगरी वीरगन्जकै माईस्थानस्थित जय माँ अम्बे इन्टरप्राइजेजलाई बिल नराखेको, उपभोक्तालाई बिल नदिई ठगी गरेकाले रु. २० हजार जरिवाना गरी कारवाही गरिएको छ। वाणिज्य कार्यालयले प्रदेश नं. २ को ८ जिल्ला र प्रदेश नं. ३ को चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ।
कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार कारवाही गरी जरिवाना गरेको निमित प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले बताए। व्यापारीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न जाँदा तोकिएको सरकारी दस्तुरभन्दा बढी रकम असुल्ने गरेको व्यापारीको गुनासो छ। (रासस)