पोखरा - क्षेत्रफलको हिसाबले मुलुककै ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आज बुधबार सम्पन्न पाँचौँ नगरसभामा ७ अर्ब ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। महानगरले चालू आवको भन्दा १ अर्ब बढीको बजेट ल्याएको हो। महानगरले चालू आवका लागि ६ अर्ब १७ करोडको बजेट ल्याएको थियो।
बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्मार्ट सिटी, आकाशे पुल, पातले छाँगोमा सिसाको पुललगायतका आयोजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ।
महानगरले चालूतर्फ २ अर्ब १५ करोड ५४ लाख र पूँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख तथा सांसद विकास कोषमार्फत १४ करोड र विभिन्न कोषहरूमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ।
महानगरले संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, प्रदेशबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।
कुल बजेट विनियोजनमा अपुग हुन जाने रकम वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ करोड ५० लाख ब्यहोर्ने महानगरको योजना छ। महानगरको नगद मौज्दात २२ करोड रुपैयाँ छ।
उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख छ। सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख छ। विशेष अनुदानतर्फ १५ करोड, समपूरक अनुदानतर्फ १७ करोड र राजस्व बाँडफाँटबापत ४१ करोड ९९ लाख प्राप्त हुने बजेटमा उपमेयर गुरुङले बजेट वक्तव्यमार्फत जानकारी दिइन्।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख, सशर्त अनुदानतर्फ २ करोड, विशेष अनुदान १२ करोड, सम्पुरक अनुदान २० करोड र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फको आय ३ करोड ८२ लाख अनुमान गरिएको बजेटमा उल्लेख छ।
महानगरले पूर्वाधार विकासलाई जोड दिँदै शहर पहाडी क्षेत्रका कनेक्टिङ सडकका लागि ७२ करोड ४० लाख ३८ हजार छुट्याएको छ। भोटिखोला मोटरेबल पुल, घोरकुना मोटरेबल पुल, फिर्केखोला पुललाई कुल २३ करोड २८ लाख रुपैंया विनियोजन गरेको उपप्रमुख गुरुङले बताइन्।
सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जना चोकमा आकाशे पुल निर्माण गर्ने र सडकमा पार्किङलाई निरुत्साहित गर्दै सार्वजनिक निजी साझेदारीमा पार्किङ निर्माण गर्ने कार्यक्रममा पनि बजेटमा परेको छ। सार्वजनिक यातायातमा इ–टिकेटिङ लागू गर्ने, महेन्द्रपुल, पृथ्वीचोक सभागृहचोकमा ट्राफिक लाइटका लागि ३ करोड विनियोजन गरिएको छ।
डिजिटल सिटी गुरुयोजना निर्माणका लागि ४० करोड विनियोजन गरिएको छ भने भूउपयोग नीति अध्यावधिक गरी नक्साङ्कन गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। वडा नं. ३३ स्थित पुँडीमा औद्योगिक क्षेत्र स्थापन गर्ने, विद्युत टेलिफोन तथा इन्टरनेटका तारलाई अण्डर ग्राउण्ड गर्न ३ करोड विनियोजन गरिएको छ। महानगरका ३३ वटै वडामा वडास्तरीय विकासका लागि ३६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारको सहकार्यमा फेवातालको जलाधार क्षेत्रलाई संरक्षणका लागि ३३ करोड ७९ लाख ४३ हजार विनियोजन गरिएको उपप्रमुख गुरुङले उल्लेख गरिन्। फलफूल बगैँचा कार्यक्रमको १ करोड २० लाख, ढल निकास गुरुयोजना तयारीका लागि २ करोड, सराङकोट, भदौरे, पुम्दीभुम्दी जोड्ने पैदल मार्ग र दिपाङ ताललगायतका स्थानमा पैदलमार्ग निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
महानगरले आव ०७६/७७ लाई पोखरा कर अभियान वर्ष मनाउने निर्णय गरेको छ। उपमेयर गुरुङले बजेट प्रस्तुत गर्दै महानगरले उठाउँदै आएको आन्तरिक कर शुल्क यथावत राख्ने तर करको दायरा बढाउने बताइन्।