काठमाडौँ - विश्वकप क्रिकेटमा अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा घरेलु टिम इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो। यस जितसँगै अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ।
२८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन मात्रै बनाउन सक्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए पनि अन्य खेलाडी भने सस्तैमा समेटिए। शून्य रन हुँदा नै पहिलो विकेटको रूपमा जेम्स भिन्चलाई गुमाएको इंग्ल्यान्डले १५ रन हुँदा दोस्रो विकेट गुमायो।
इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४४ रन खर्चेर पाँच विकेट लिएका थिए । यसअघि लन्डनस्थित लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएपछि इंग्ल्यान्डले मध्यम लक्ष्य पाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतक बनाए । उनले ११५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतक पूरा गरे । तर लगतैको बलमा भने उनी आउट हुन पुगे ।
उनले जारी विश्वकपमा योसहित दुई शतक बनाएका छन् भने तीन अर्धशतक पूरा गरेका छन् । यसअघि उनले श्रीलंकाविरुद्ध १५३ रन बनाउँदै शतक पूरा गरेका थिए ।
कप्तान फिन्चले शतक बनाउँदा अर्का ओपनर डेभिड वार्नरले अर्धशतक बनाए । उनले ५३ रन बनाएका थिए । तर अष्ट्रेलियाको मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । स्टेभन स्मिथ ३८ रनमा आउट हुँदा अर्का खेलाडी एलेक्स क्यारी ३८ रनमा अविजित रहे । उस्मान खवाजा २३ र ग्लेन म्याक्श्वेल १२ रनमा आउट भए ।
अष्ट्रेलियाका लागि पहिलो विकेटको रुपमा कप्तान फिन्च र वार्नरले १२३ रनको साझेदारी गर्दैै टिमलाई बलियो स्थितिमा ल्याएका थिए । तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा ठूलो स्कोर बनाउन सकेन । बलिङतर्फ भने क्रिस वोक्सले दुई विकेट लिए ।
सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको अष्ट्रेलिया १२ अंक बनाएर सेमिफाइनलमा पुगेको अष्ट्रेलियाले अझै दुई खेल खेल्न बाँकी छ ।