काठमाडौँ - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट आज मंगलबार सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज बसेको महानगरको चौथो नगरसभामा आगामी आवका लागि रू. ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका हुन्। सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूको समेत उपस्थिति रहेको थियो।
प्रमुख महर्जनले प्रस्तुत गरेको उक्त बजेटमा २१.७४ प्रतिशत चालू खर्च, ४९.५४ प्रतिशत पूँजीगत खर्च, ८.८८ प्रतिशत सामाजिक सुरक्षा खर्च र १९.८४ प्रतिशत अन्य साझेदारी कार्यक्रममा खर्च गर्ने प्रस्ताव गरिएको छ। ललितपुर महानगरपालिकाले ल्याएको यो बजेट चालू आवको भन्दा १२ प्रतिशतले बढी हो। चालू आवका लागि महानगरपालिकाले ४ अर्ब ६० करोडको बजेट ल्याएको थियो।
ललितपुर महानगरले आगामी आवका लागि ल्याएको बजेटमा पूर्वाधार विकासमा प्राथमिकता दिइएको छ। बजेटमा पूर्वाधार विकासमा मात्रै २ अर्ब ७ करोड ३६ लाख ३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ३८ दशमलव ७५ प्रतिशत हो।
त्यसैगरी, सामाजिक सुरक्षामा ४६ करोड, आर्थिक विकासका लागि ७ करोड ५३ लाख, सामाजिक विकासका लागि १६ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै, वातावरण तथा विपद् व्यवस्थापनमा लागि १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख, पूर्जा निर्माणका लागि ६ करोड १० लाख बजेट विनियोजन गरिएको छ।
केके छन् नीति तथा कार्यक्रममा ?
पूर्वाधार विकास नीतिको सडक तथा ढलअन्तर्गत महानगरपालिका क्षेत्रभित्र सडक, ढल, खानेपानी भवन तथा पार्क व्यवस्थापनजस्ता बहुवर्षीय योजना कार्यान्वयन गर्न रणनीतिक, आवधिक योजना तयार गरिएको छ। यस्तै, ५० लाख रुपैयाँसम्मको लागत साझेदारी गर्न इच्छुक निजी लगानीकर्तालाई बढीमा १० वर्षसम्म सञ्चालन गर्ने नीति ल्याएको छ।
त्यसैगरी, चक्रपथको ललितपुर खण्डमा दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गरी दायाँबायाँ फेन्स निर्माण र जुनसुकै सार्वजनिक पूर्वाधारलाई अपाङ्गमैत्री गराइने र बाटोमा ब्रेक ब्लकको व्यवस्थासमेत गरिने नीति तथा कार्यक्रमममा उल्लेख गरिएको छ।

पाटन सम्पदा क्षेत्रमा मोटरसाइकललाई समेत निषेधित क्षेत्र घोषणा गर्ने, विद्युतीय गाडी सञ्चालनमा ल्याउने, ऐतिहासिक पुरातात्विक र पर्यटकीय स्थलहरूमा अव्यवस्थित र अशोभनीय रूपमा रहेका तारहरू हटाई व्यवस्थित गर्ने भएको छ।
भवन तथा शहरी विकासअन्तर्गत ललितपुर महानगरपालिका क्षेत्रका भूकम्प प्रभावितको लाभग्राही सूचीमा नाम समावेश भएका व्यक्तिलाई ३ हजार वर्गफिटसम्मको क्षेत्रफलको नक्सापास दस्तुरमा शतप्रतिशत छुटको सुविधा उपलब्ध गराइदिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, विश्व सम्पदाको सूचीमा सूचिकृत दरबार क्षेत्रको भीमसेन मन्दिर र मुच्छे आँगनको पुनर्निर्माण गर्ने, पाटन दरबार स्क्वायरको व्यवस्थापन र प्रवर्द्धनका लागि गुरुयोजना निर्माण गरी प्रभावकारी कार्य सञ्चालन गरिने भएको छ।
सामाजिक विकास नीति तथा कार्यक्रमअन्तर्गत लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीतिमा लैङ्गिक विभेद न्यूनीकरणका लागि उत्तरदायी बजेट, सबै वडामा बाल क्लबलाई जोड दिइने भएको छ। संस्कृतिविद् डा. सत्यमोहन जोशीको योगदानको २०७७ साल वैशाख ३० गतेसम्म सञ्चालन हुने शताब्दी महोत्सव कार्यक्रम विशेष सम्मानका साथ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, शिक्षालाई प्राथमिकतामा राख्दै दलित, जनजाति, अपाङ्ग व्यक्तिलाई व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्दै लैजाने व्यवस्था गरेको छ। त्यसैगरी, सबै सामुदायिक विद्यालयमा बालमैत्री, अपाङ्गता मैत्री र छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध पिउने पानी, उचित पुस्तकालय, विज्ञान प्रयोगशाला र ठूला छात्राहरूलाई सेनिटरी प्याडको व्यवस्था गरिने भएको छ।
महानगरले नीति तथा कार्यक्रमअन्तर्गत महानगरमा पर्यटनहरूको उठेको बसाइ लम्ब्याउन होम स्टे सञ्चालन गर्ने, सूचना केन्द्रलाई व्यवस्थित गर्दै पर्यटन वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ।
महानगरले वातावरण तथा विपद व्यवस्थापन नीतिअन्तर्गत फोहोरमैलाको व्यवस्थापन गर्ने, प्लाष्टिक झोला न्यूनीकरण गर्ने, धूवाँ, धूलोका कारण वातावरणीय प्रदूषण कम गर्न विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
आर्थिक विकास नीतिअन्तर्गत कृषिमा आधुनिकीकरण, गुणस्तरीय उत्पादन सामग्रीहरू र कृषिको यान्त्रीकरणका लागि कृषकमैत्री औजार, उपकरणहरू व्यवस्था गर्ने, कृषि अटोमेशनअन्तर्गत महानगरमा यस वर्षबाट शुरू भएको बीउ एटीएमजस्ता प्रविधिलाई निरन्तरता दिइने भएको छ। त्यस्तै, कृषिको आधुनिकीकरणका लागि बायोटेक्निकल ल्यावको व्यवस्था गरी कृषकको क्षमता विकासमा जोड दिइने भएको छ। पशु सेवाअन्तर्गत पशुहरूको आहारा व्यवस्थापन गर्नका लागि विभिन्न हरियो घाँसका बीउ वितरण गर्नुका साथै साइजेल प्रविधि तथा हाइड्रोपोनिक्स प्रविधिलाई पनि बढावा दिइने भएको छ।