बुटवल - प्रदेश ५ सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित भएको छ। लामो छलफलपछि प्रदेशसभाले उक्त बजेट हिजो सोमबार पारित गरेको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँबराबरको बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्ताव गरेको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक २०७६ सोमबार बहुमतले पारित भएसँगै बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ। मुख्यमन्त्री पोखरेलले पेश गरेको प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेसले असहमति जनाएपछि सर्वसम्मत हुन सकेन।
कृषि, पर्यटन, उद्योग र भौतिक पूर्वाधार तथा मानव संशाधनलाई मुख्य प्राथमिकतामा पारी तयार गरिएको प्रदेशसभाबाट पारित बजेटले रोजगारी वृद्धि र जनसांख्यिक लाभ प्राप्त गर्न ‘युवा जनशक्ति’ केन्द्रित कार्यक्रम कार्यान्वयन गर्ने घोषणा पनि गरिएको छ।
बजेटले सीमान्तकृत वर्ग, पिछडिएको क्षेत्र, आर्थिक सामाजिक तथा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदाय लक्षित कार्यक्रम कार्यान्वयन गर्ने र प्रदेशको शासकीय क्षमता वृद्धि गरी लगानीमैत्री वातावरण तयार गर्ने र सुशासन प्रवर्द्धन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
बजेटको कुल विनियोजित रकममध्ये चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख छ। जुन कुल बजेटको ३६.९४ प्रतिशत हुन आउँछ। यसैगरी बजेटमा पूँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख विनियोजन गरिएको छ, जुन ५१.१ प्रतिशत छ। वित्तीय हस्तान्तरणअन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानतर्फ १ अर्ब ३८ करोड ९८ लाख छुट्ट्याइएको छ।
यसैगरी, वित्तीय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ। बजेटमा वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १२.०५ प्रतिशत छ।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख अपेक्षा गरिएको छ।
यसैगरी सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालू आर्थिक वर्षको बचत रकमबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान गरिएको छ।