काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले संघीयताअनुसार संगठन निर्माणका लागि कार्यकर्ताहरूलाई गाउँगाउँसम्म पुग्न निर्देशन दिएका छन्। कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाले जनताको मन जित्न र जनताको बीचमा रहेर लोकतन्त्रको झण्डा फहराउनका लागि नेता कार्यकर्तालाई स्थानीय तहसम्म पुग्न निर्देशन दिएका हुन्।
सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गिरिजाप्रसाद कोइरालाको ९५औँ स्मृति दिवसका अवसरमा जीपी कोइराला अध्ययन केन्द्रले आयोजना गरेको ‘देशको राजनीतिक परिस्थिति र कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेता सिटौलाले सत्ता पक्ष भत्किँदै गएको र प्रतिपक्ष कमजोर बन्दै गएको बताए। उनले भने, ‘सत्ता पक्षको हालत सबैले देखेकै छौँ। हाम्रो हालत पनि उस्तै छ। यस्तो अवस्थामा युवाहरू सचेत हुनुपर्छ। कांग्रेसले सम्पूर्ण आन्दोलन र परिवर्तनको जिम्मेवारी लिएको हुनाले अबको खतरा पनि कांग्रेसबाहेक अरु कसैले टार्न सक्दैन।
उनले भने, ‘प्रत्येक कार्यकर्ता लोकतन्त्रका प्रतीक हो। राष्ट्रियताको रक्षा, स्वाभिमानको रक्षा, मुलुकको समग्र विकासको जिम्मा कांग्रेसले लिनुपर्छ। कांग्रेसमा स्वाभिमान छ। आज व्यवहार, आचरण, नीति, कार्यक्रम सबैमा कांग्रेस जनपक्षीय बन्न सक्नुपर्छ।’
उनले अगाडि भने, ‘हेलिकोप्टरमा गएर कोण सभा सम्बोधन गर्ने कांग्रेस जनताले चाहेको हो वा जनताकै शैलीमा पहुँच अनुसारको सुविधामा हिड्ने कांग्रेस चाहियो? मजदुर, किसानका खेतमा पुग्ने कांग्रेस, जनताको जीवनसँग जोडिने कांग्रेस चाहिएको छ। यही कांग्रेस निमार्णको लागि युवाहरू गाउँगाउँमा परिचालित हुनुहोस्। म त उमेरले पनि ६५ कटिसकेको मान्छे हुँ। युवाहरू रेसमा आउनु पर्यो। दौडिनु पर्यो। आफ्नो पहुँचलाई सशक्त बनाउनु पर्यो।’
कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, देवराज चालिसे, कुन्दराज काफ्ले लगायतले आफ्नो कुराहरू राखेका थिए।