काठमाडौँ - सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको आज (साेमबार)को शून्य समयमा उनले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री को हुकुमी शैली भएको तर्क गरिन्। कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था छ।
सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरिन्। उनले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमिन डुबानमा परेको बताइन्।
सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरे। सांसद डिला सङ्ग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विसुङ्खेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिञ्ज आतङ्क मच्चाउँदै महिलालाई आतङ्कित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गरे।
सांसद दिलेन्द्रप्रसाद बडूले नेकपा (माओवादी)का विप्लव समूहसँग तत्काल वार्ता शुरु गर्न माग गरे। त्यसैगरी सांसद नारायणप्रसाद खतिवडाले विर्ता उन्मूलन भए पनि नुवाकोट जिल्लामा १ हजार ५ सय ५८ रोपनी जमिन खनजोत गर्ने ४ हजार ९ सय ५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गरे।
सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्तिको तथा नदी नियन्त्रणको माग गरेका थिए। (रासस)