धनगढी - सुदूरपश्चिम प्रदेश सभाको आज आइतबारका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आइतबार बिहान ८ बजे शुरू हुने भनिएको बैठक प्रतिपक्षी सांसदहरूले अवरुद्ध गर्ने संकेत पाएपछि सभामुख अर्जुनबहादुर थापाको निर्देशनमा प्रदेश सभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो। यसअघि बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरूले अवरोध गरेपछि स्थगित गरिएको थियो।
यही असार १ गते प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै विनियोजन विधेयक टेबुल गरेपछि आह्वान गरिएको गत बिहीबारको बैठकमा बजेटको विरोध गर्दै प्रतिपक्षी सांसदहरूले अवरोध गर्दै रातो किताब जलाएका थिए। बजेटका सम्बन्धमा सरकार र प्रतिपक्षीबीच संवाद भई समाधान निस्कने र सोही आधारमा आज आइतबार बैठक सञ्चालन गर्ने अपेक्षासहित सभामुख थापाले बिहीबारको बैठक स्थगित गर्नुभएको थियो। तर, यसबीचमा सरकार र प्रतिपक्षी दलबीच कुनै संवाद भएन। संवाद नभएपछि आजको बैठकमा पनि प्रतिपक्षीको अवरोध रहने संकेत पाएर सभामुख थापाले सूचना टाँसेर बैठक स्थगित गर्न सचिवालयलाई निर्देशन दिएको बुझिएको छ। प्रदेश सभाका सचिव राम सिंह धामीले सभामुखको निर्देशनअनुसार आजको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए।
शुक्रबार बैठक शुरू हुनासाथ प्रतिपक्षी दलले अवरोध गरेकाले स्थगित भएको भए पनि आइतबारको बैठक स्थगित हुनुको कारण आफूले थाहा नपाएको र सभामुखले बैठक स्थगित गर्न निर्देशन दिएपछि आफूले सूचना टाँसेको जानकारी दिए।
आइतबार स्थगित भएको बैठक यही असार ११ गते बुधबारका लागि आह्वान गरिएको प्रदेश सभा सचिव धामीले जानकारी दिए। बजेट प्रस्तुत भएपछि लगातार दुई पटक प्रदेश सभाको बैठक स्थगित भएको छ। ११ गतेसम्म निकास निस्कने र प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने अपेक्षासहित सचिवालयले लामो समय राखेर बैठक आह्वान गरेको छ।