पोखरा - सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले थालेको तेस्रो चरणको आन्दोलनअन्तर्गत कास्की शाखाले संकलन गरेको हस्ताक्षर आज शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइयो। नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा ३ दिनको अवधिमा संकलन गरिएको हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष पेश गरेको हो।
प्रधानमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण गर्न आग्रह गर्दै पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्त रूपमा हस्तान्तरण गरेका छन्।
हस्तान्तरण गर्नुअघि पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिल विधेयक संशोधन वा फिर्ता नगरिए पत्रकारिता छाडेर अर्को पेशा रोज्नुपर्ने अवस्था आउने बताए। चौथो चरणको आन्दोलन गर्नुपरे ‘गर कि मर’ को अवस्था सिर्जना हुने उनको भनाइ थियो।
संकलित हस्ताक्षर बुझेपछि प्रमुख जिल्ला अधिकारी बुढाले आफूले आजै गृह मन्त्रालयमा पठाउने र गृहमार्फत प्रधानमन्त्रीसमक्ष जाने बताए। महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरू आन्दोलनमा रहेको बताउँदै सरकारले काउन्सिल विधेयक संशोधन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष श्रेष्ठले पत्रकारहरूको आन्दोलन शान्तिपूर्ण हुने भन्दै चौथो चरणको आन्दोलन घोषणा गर्नुअघि नै सरकारले पत्रकारका माग सुनुवाइ गर्ने विश्वास व्यक्त गरे।
आज देशैभरिका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीलाई संकलित हस्ताक्षर बुझाएका छन्।