पोखरा - गण्डकी प्रदेश सभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने गरी तोकिएको समयसीमा सकिएको छ। असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६।०७७ को बजेट माथिको छलफल हिजो बिहीबार सकिएको हो।
बजेटमाथिको छलफलको अन्तिम दिन बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरूङले बजेट लक्षित वर्गलाई केन्द्रित गरेर ल्याएका कारण वितरणमुखी जस्तो देखिएको स्वीकार गरेका छन्। उनले प्रदेशमा उद्यम सञ्चालन गरी स्वावलम्बी र व्यवसायी बन्न चाहनेका लागि बजेट केन्द्रित रहेको जिकिर गरेका छन्।
मन्त्री गुरुङले बजेट ऋण गरेर भए पनि उद्यम गर्न चाहनेहरूप्रति केन्द्रित रहेको उल्लेख गरे। उनले ५ वर्षभित्रमा प्रदेश सरकारलाई आन्तरिक राजस्वबाटै चालू खर्च धान्न सक्षम बनाउने योजनासहित बजेटको व्यवस्था मिलाइएको दाबी गरे। उनले भने, ‘प्रदेश सरकारले नागरिकलाई कर तिर्न प्रोत्साहन गर्ने र स्वरोजगार व्यवसायलाई प्रोसाहन गरी आन्तरिक राजस्व बढाउनेतर्फ सरकार लागिपरेको बताए। मन्त्री गुरुङले निर्वाचन क्षेत्र विकास कार्यक्रम कुनै एउटा सांसदलाई मात्र नभई प्रत्यक्ष र समानुपातिक दुवै सांसदको समान हैसियतमा कार्यान्वयन हुने बताए।
पोखरालाई पर्यटकीय राजधानी बनाउने र समग्र गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागि पनि बजेट छुट्याइएको उनले जानकारी दिए। मन्त्री गुरुङले चालू आर्थिक वर्षमा १० हजारलाई स्वरोजगारसहित रोजगारी सृजना गरेको जिकिर गरे। प्रश्नोत्तर सकिएसँगै विनियोजन विधेयक २०७६ प्रदेश सभामा टेबुल भएको छ।
गण्डकी प्रदेश सभाको बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनियोजन विधेयक प्रदेश सभामा टेबुल गरेका हुन्। आज शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको दफावार छलफल शुरू हुने मन्त्री गुरुङले बताए।