काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर कायरतापूर्वक हत्या गरेको जिकिर गरेका छन्।
नेपाली पब्लिकसँगको कुराकानिमा नेता कार्कीले भने,‘सरकारले हाम्रो पार्टीका नेता कार्यकर्तालाई नियन्त्ररणमा लिएर गोली हान्नेमा पुगेका छ। हिजोको घटनाले पनि यहि पुष्टि गर्छ।’
उनले अगाडि भने, ‘शान्ती चाहने नेपालीको गासमा फेरी ढुङ्गा लाग्ने खतरा त्यत्तिकै छ। यो खतरा सरकारले जानेर निम्त्याउदै छ। सरकार संवादमार्फत समस्या समाधान गर्नेभन्दा पनि बल प्रयोगमा उत्रिएको कुरा लुकाएर लुक्दैन।’
नेता कार्कीले भने, ‘प्रहरी ‘इन्काउन्टर’ को नाममा हाम्रा दुई जना नेता कार्यकर्ता मारिनु भएको छ। तीर्थराज घिमिरे ७ जेठमा प्रहरीको गोलीबाट भोजपुरमा मारिनु भयो। हिजो बिहीबार कुमार पौडेल सर्लाहीमा मारिनु भयो। यसको सत्य बुझ्न कुनै कठिन छैन। सरकार बलपूर्वक राजनीतिक आस्थाका योद्धालाई युद्धको मैदानतिर धकेल्दै छ, र प्रहरी ‘इन्काउन्टर’ को नाममा हत्या गर्दैछ।’
प्रहरीले मृतक पौडलको साथबाट गोली गठ्ठा, पेस्तुलसमेत बरामत गरेको जनाएको छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो सब वाइयात हो। प्रहरीले आफै हतियार झोलामा राख्ने, इन्काउण्टरमा मारिएको भन्ने। भ्रम फैलाउने काम गरेको छ। कुन आधारमा कुमार कमरेडको इन्काउटर हुन सक्छ ? कुनै आधारले पुग्दैन। बरु उहाँसँग नेपाल भूमिहीन सुकुम्बासी संघको परिचयपत्र, कागजात थिए!’
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई नियन्त्रणमा लिइसकेपछि प्रहरीले हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको बताएका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएर चिनिसकेपछि हातमा र टाउकोमा गोली प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ।’
बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टीले महान सहिद घोषणा गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र केपी सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ।’
