काठमाडौँ – सम्पदा अभियन्ता पवित्र बज्राचार्यले गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। सरकारले विधेयक फिर्ता लिँदैमा आन्दोलन नरोकिने भन्दै उनले विधेयक खारेजीको घोषणा आउनुपर्ने बताए।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने उनले बताए। उनले भने, ‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो।’ हजारौं वर्षदेखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको उनको भनाई थियो।
नेपालको इतिहासमा गैरराजनीतिक मुद्दामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धी विधेयक जनविरोधी भएकाले जनता उठेको उनले बताए। बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको भन्दै सरकारले जनताको चित्त दुखाएको गुनासो गरे।
भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने उनले चेतावनी दिए। सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए।
विधेयक दर्ता गराएकै दिनदेखि चौतर्फी दबाब आएपछि सरकारले बाध्य भएर गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता लिएको छ।