इस्लामावाद - पाकिस्तानको सेनाले लेफ्टिनेन्ट जनरल फैज हमिदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आईएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ। पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आईएसआईका वर्तमान प्रमुख लेफ्टिनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ। लेफ्टिनेन्ट जनरल नवीद मुख्तारको अवकाशपछि नियुक्त भएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ।
हमिदले यसअघि आईएसआईको प्रतिजासुसी विभागको प्रमुखका रूपमा सेवा गरिसकेका छन्क्नुर। उनी गत अप्रिल १२ मा लेफ्टिनेन्ट जनरलमा पदोन्नति भएका थिए। सन् १९५० मा स्थापना भएको आईएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देशभित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो । यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ । (रासस)