विराटनगर - प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोडको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले हिजो आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन्।
बजेटमा चालू खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ। बजेटको स्रोतमध्ये आन्तरिक राजस्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजस्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालू आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ।
प्रदेश सरकारले खाद्यान्न उत्पादन तथा उत्पादकत्व वृद्धिका कार्यक्रमहरूका लागि रू. १९ करोड ४७ लाख बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नयाँ पकेट तथा ब्लक कार्यक्रमका लागि रू. ७४ करोड २१ लाख विनियोजन गरिएको छ।
मिल्क होलिडेलाई अन्त्य गर्न गुणस्तरीय दूध उत्पादन प्रशोधन तथा उपभोगलाई सहज बनाउन इटहरीमा धूलो दूध कारखानाको स्थापनाका लागि १५ करोड ५० लाख विनियोजन गरिएको छ। प्रदेश सरकारले पर्यटन क्षेत्रअन्र्तगत भेडेटार–राजारानी–राके–मंगलबारे हुँदै महाभारत हरित कृषि पर्यटन क्षेत्रको रूपमा विकास गर्न ३ करोड छुट्याइएको छ। समग्र पर्यटन क्षेत्रका लागि १ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ। उद्योग वासणज्य तथा आपूर्ति क्षेत्रको विकासका लागि ४७ करोड बजेट छुट्याइएको छ।
प्रदेश सरकारले सिँचाइ तथा नदी नियन्त्रणतर्फ ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रतर्फ मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। प्राविधिक शिक्षा अध्ययन गराउने शिक्षालयहरूलाई ३८ करोड ६९ लाख अनुदान दिइने बजेटमा उल्लेख छ।
विद्यालय सुधारका लागि १७ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले युवा वैज्ञानिक र युवा आविष्कारकलाई प्रोत्साहित गर्न १ करोड विनियोजन गरिएको छ। सरकारले समग्र शिक्षाका लागि भने १ अर्ब २८ करोड विनियोजन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ७ करोड विनियोजन गरेको छ।
त्यसैगरी, खानेपानी र सरसफाइका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले श्रम र रोजगारका लागि मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न २० करोड छुट्याएको छ। खेलकुदअन्तर्गत ‘एक स्थानीय तह १ खेलकुद मैदान’ स्तरोन्नति गर्नका लागि ३६ करोड ६० लाख बजेट छुट्याइएको छ।
प्रदेश सरकारले समग्र खेलकुद विकासका लागि भने ४७ करोड ५ लाख बजेट विनियोजन गरेको छ। सरकारले बजेटमार्फत भौतिक पूर्वाधारका प्रदेश निर्वाचन क्षेत्रका लागि एक निर्वाचन क्षेत्रअन्तर्गत २ करोड ५० लाख दिने गरी १ अर्ब ४० करोड बजेट विनियोजन गरिएको छ। त्यसैगरी बहुवर्षे सडक आयोजनाका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, प्रादेशिक विशेष सडक आयोजनाका लागि ३६ करोड बजेट छुट्याइएको छ। प्रदेश सरकारले बजेटमार्फत रोड ब्युटिफिकेशन कार्यक्र शुरू गरेको छ, जसका लागि १८ करोड बजेट छुट्याइएको छ। सरकारले झोलुङे पुलका लागि २० करोडसमेत गरी प्रदेश सडक र पुलका लागि ८ अर्ब बजेट विनियोजन गरेको छ।
सरकारले ऊर्जाका लागि सौर्य शक्तिबाट २ सय मेघावाट विद्युत उत्पादन गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री आङ्बोले बताए। सरकारले आवास तथा भवन निमार्णका लागि राजधानीका भवनका गुरु योजना बनाउने कार्यक्रममा लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।
बजेटकाे पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहाेस्ः
budget province-1