काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ। उनले एकताका क्रममा गरिएको सहमतिलाई इमानदारीपूर्वका कार्यान्वयन गर्नुपर्ने बताए।
शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज (साेमबार) पार्टी कार्यालय धुम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमानदारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए।
“पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमानदारीसाथ उभिनुपर्छ,” अध्यक्ष दाहालले भने, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो। नेपाली जनताका अगाडि गरिएका वाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन। यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ।”
मार्क्सको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उनले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रूप दिइने बताए।
“दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन। पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ,” अध्यक्ष दाहालले भने, “पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुवै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुवै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो।”
पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले निर्वाह गरेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उनको भनाइ थियो। अध्यक्ष दाहालले भने, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले निर्वाह गरेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति र कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ। यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हाैँ।”
शहीदको सपना पूरा गर्ने सङ्कल्प
शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उनले बताए। अध्यक्ष दाहालले भने, “अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ।”
गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रूपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रूपमा आफूले पाएको स्मरण गरे। अध्यक्ष दाहालले भने, “पार्टीको विचार र नेतृत्वको रक्षाविना आन्दोलनले सकारत्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो।”
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमानदार भएर अगाडि बढ्नुको विकल्प नभएको बताए। जनताको पथमा हिँड्ने बाटोबाट विचलित नभई अघि बढ्नु नै शहीदप्रति सञ्चा सम्मान हुने उनको भनाइ थियो।
नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले क्रान्तिका लागि निरन्तर लागिरहने योद्धाका रूपमा आफूले शहीद खड्कालाई पाएको उल्लेख गर्दै वर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताए।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य पशुपति चौलागाईंले पार्टी एकतालाई अन्तिम रूप दिएमा शहीद खड्काप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए। युवा अवस्थामै अत्यन्त क्रान्तिकारी छवि भएको योद्धाका रूपमा आफूले खड्कालाई पाएको स्मरण गर्दै उनले शहीद खड्का जीवितै भएको भए आज आफ्नो पनि नेता हुनुहुने बताए।
विसं २०२८ भदौ १० गते दोलखाको जुगुमा जन्मेका खड्का जिरी माध्यामिक विद्यालयमा कक्ष ८ मा अध्ययन गर्दागर्दै राजनीतिमा जोडिएका थिए। उनले तत्कालीन नेकपा माले पार्टीको अनेरास्ववियु पाँचौँको प्रारम्भिक कमिटीको कोषाध्यक्ष भएर विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका थिए।
विसं २०४६ मा एसएलसी उत्तीर्ण भएपछि उनी अनेरास्ववियुको जिल्ला सचिव र २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन समितिको सचिवको भूमिका निर्वाह गरेका थिए। आफू आबद्ध तत्कालीन पार्टी नेकपा (एमाले)ले २०४६ सालको जनआन्दोलनको भावनाविपरीत काम गरेको भन्दै उनी २०४८ सालमा तत्कालीन एमाले परित्याग गरी नेकपा (मशाल)मा आबद्ध भएका थिए।
मशालले पार्टी क्षमताको मूल्याङ्कन गर्दै उनलाई अनेरास्ववियु क्रान्तिकारीको दोलखा सचिवसँगै पार्टीको खुला चुनावी मोर्चा जनमोर्चा नेपालको जिल्ला सदस्यको भूमिका दिएको थियो। नेकपा (मशाल) बाट पार्टी रूपान्तरण भई नेकपा (माओवादी)को गठन भएपछि उनी दोलखा जिल्ला पार्टी सदस्य भई २०५२ साल माघदेखि भूमिगत भएका थिए। जनयुद्धकै क्रममा पार्टीको प्रवास बैठक सम्पन्न गरी कार्यक्षेत्र फर्कने क्रममा उनलाई २०५९ असार २ गते रौतहटको पिपरामा प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो। (रासस)