काठमाडौँ – प्रतिनिधिसभाको आज (साेमबार)को बैठकको शून्य समयमा बोल्दै सांसदहरूले लोकसेवाको विज्ञापन सच्याउन माग गरे। संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरूले माग गरेका हुन्।
सांसदहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए। सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरेका हुन्।
सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृतिविरोधी नभएको बताए। सांसद गणेशकुमार पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति पुर्याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।
सांसद गौरीशङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरूपमा निषेध गरिँदा विकासनिर्माणमा असर परेको बताए। अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिए।
सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताइन्। जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उनको भनाइ थियो।
प्रतिनिधसभामा दुई प्रतिवेदन पेश
प्रतिनिधिसभामा ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ पेश गरिएको छ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६’ महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेका हुन्। (रासस)