पोखरा - गण्डकी प्रदेश सरकारले हिजो आइतबार आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन्। मन्त्री किरण गुरुङले चालूतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार, पूँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको जानकारी दिए। ६२ प्रतिशत पूँजीगत, ३८ प्रतिशत चालू खर्च हुने गरी बजेटको बाँडफाँट गरिएको छ।
गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशका ३६ निर्वाचन क्षेत्रका सांसदलाई २ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरेको हो। बजेट वक्तव्यमा समानुपातिक सांसदका लागि भने उल्लेख गरिएको छैन।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सर्शत अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपूरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड रुपैयाँ रहेको छ।
त्यसैगरी, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लाख, रोयल्टीबापत प्राप्त हुने ४० करोड र आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख तथा चालू आर्थिक वर्षबाट खर्च नभई बाँकी रहन जाने अनुमानित ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ।
आन्तरिक ऋणबाट अपुग हुने १ अर्ब नेपाल सरकारबाट ऋण लिइने अर्थमन्त्री गुरुङले जानकारी दिए। सरकारले समृद्ध प्रदेश निर्माणका आधारहरूमा पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशील मानव पूँजी निर्माण तथा विकास र सुशासन भएको उल्लेख गरेको छ।
सरकारले प्रदेशका गौरवका आयोजनाका रूपमा प्राथमिकीकरण गरेको पोखरा चक्रपथ र पोखरा भिमाद, दुम्कीवास द्रुतमार्ग निर्माण, शालिग्राम सांस्कृतिक कोरिडोरलाई दुई खण्डमा निर्माण गर्ने गरी ११ करोड रुपैयाँ विनियोजन गरेको छ।
कुल चालू बजेटको ३१ प्रतिशत र पूँजीगततर्फ २३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ। २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ चालू र ३ अर्ब ६६ करोड रुपैयाँ पूँजीगत खर्च गर्न सफल भएको छ। २४ अर्ब बजेटमा पनि अहिलेसम्म सन्तोषजनक खर्च गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षमा ३२ अर्बभन्दा माथिको बजेट ल्याएको छ।
बजेटकाे पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्ः
Gandaki Budget PDF