बुटवल - प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले यो आवका लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट आज आइतबार सार्वजनिक गरेको हो।
प्रदेश सरकारले छुट्याएको उक्त बजेटअन्तर्गत १३ अर्ब ४५ करोड ५ लाख अर्थात् ३६.९४ प्रतिशत चालू बजेट र १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत पूँजीगत बजेट रहेको छ।
वित्तीय हस्तान्तरणअन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानतर्फ रू. १ अर्ब ३८ करोड ९८ लाख, वित्तीय समानीकरण अनुदानतर्फ रू. ५० करोड, समपूरक अनुदानतर्फ रू. १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ रू. १ अर्ब गरी कूल रू. ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १२.०५ प्रतिशत छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतहरूको समेत पहिचान गरिएको छ। आन्तरिक राजस्वमा रू. ४ अर्ब ५९ करोड ४० लाखको अनुमान गरिएको छ भने राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानवाट ७ अर्ब ५४ करोड १ लाखको अनुमान गरिएको छ। त्यस्तै, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालू आर्थिक वर्षको वचत रकमवाट रू. ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान गरिएको छ।
प्राथमिकतामा परेका सशर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालू आर्थिक वर्षमा झैँ नेपाल सरकारसँग अपुग स्रोतको माग गर्नेसमेत बजेटमा भनिएको छ।
बजेटकाे पूर्ण पाठ :
Final Budget Speech FY 2076-77 (1)