काठमाडौँ – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा गर्ने, ४ गते देशभरका मठमन्दिरहरुमा बिहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने बताइएको छ।
त्यस्तै, असार ६ गते अन्तरक्रिया गर्ने, ७ गते गुठी ऐनको विरोधमा विरोध सभा गर्ने, ८ गते देशभरका मठमन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेत जानकारी दिए। १० गते गुठी विधेयकविरुद्ध देशभर कडा आन्दोलन गर्ने महासचिव बस्नेतले बताए।
समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए। देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने उनको भनाई छ।
विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए। उनले हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।
पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए। स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए। बैकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको बताए।
कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन आग्रह गरिन्। देशमा भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने उनले चेतावनी दिइन्।