काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणमा ७ सदस्यीय प्रतिनिधी मण्डलसहित आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।
उक्त अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचरीको उपस्थिति थियो। यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
चीन भ्रमणको क्रममा प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्नेे कार्यक्रम रहेको छ। यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।