काठमाडौँ – विश्वकप क्रिकेट प्रतियोगितामा आज(आइतबार) दुई कट्टर प्रतिद्वन्द्वी देश पाकिस्तान र भारतका खेलाडीबीच खेल हुँदैछ। इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ।
खेलमा दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईको रुपमा लिँदै जित हात पार्ने दाउमा छन्। विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुने अनुमान गरिएको छ। यी दुई देशबीचको तनाबकाबीचमा पनि दुई देशका खेलाडीबीच पनि भिडन्त हुने भएकाले रोचक हुने अपेक्षा गरिएको छ।
जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ।
यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो।
पाकिस्तानको ब्याटिङ, बलिङ राम्रै भए पनि फिल्डिङ निकै फितलो रहेको छ। अष्ट्रेलियाविरुद्धको हारमा पनि पाकिस्तानको फिल्डिङ मुख्य कारण बन्यो।
आजको खेलमा भारतमाथि जित हात पार्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुनुपर्छ।
यता, भारत भने निकै बलियो स्थितिमा देखिन्छ। भारतको तीनै पक्ष बलियो देखिएको छ। ब्याटिङ र बलिङ उत्कृष्ट छ। भारतीय ब्याट्सम्यान उच्च लयमा देखिन्छन्। बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या उच्च लयमा छन्।
यता, पाकिस्तानको पनि मोहम्मद अमिर, वाहब रियाज, हसन अलीजस्ता बलर लयमा देखिन्छन् भने ब्याट्सम्यान चले भारतलाई खतरा हुन सक्छ। एजेन्सीको सहयोगमा