वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ। शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुईपक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरूले जनाएका छन्।
प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका थिए। उनीहरूबीच ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। जी २० को शिखर सम्मेलन यही जुनको अन्त्यतिर हुने तय भएको छ।
ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनुभएकोमा आबेलाई धन्यवाद दिनुभएको छ। जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गरेका थिए। यसअघि सन् १९७८ मा तत्कालीन जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान गएका थिए।
यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्बन्ध सुधार्ने उद्देश्यले भएको थियो। आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए। बिहीबार भएको उनीहरूको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
भेटका बारेमा ट्रम्पले बिहीबार नै ट्विट गर्दै लेखेका छन्, “जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाँडै नै यसले एउटा सम्झौताको रूप लिनेछ भन्ने मैले व्यक्तिगत रूपमा विश्वास लिएको छु ।” (रासस/सिन्ह्वा)