काठमाडौँ– स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र युएईबीच नयाँ श्रम समझदारी भएको छ। १०८औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको शुक्रबार शून्य लागतमा नेपाली श्रमिक लिने गरी नेपाल र यूएईबीच श्रम समझदारीमा हस्ताक्षर भएको हो।
१०८औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले शुक्रबार नयाँ श्रम समझदारीमा हस्ताक्षर गरेका हुन्। यसअघि सन् २००७ मा नेपाल र यूएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा थियो। अहिलेको सम्झौताले त्यसलाई प्रतिस्थापन गरेको छ।
नयाँ श्रम समझदारीले नेपाली कामदारलाई यूएईका स्थानीय कामदारले पाउनेसरह सेवा सुविधाको प्रत्याभूत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। समझदारीले महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गरिएको मन्त्रालयको दाबी छ।
कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने र बिलम्व गर्न नपाईने व्यवस्था पनि समझदारीले गरेको छ। कामदारलाई कम्पनीले तलब नदिने र अलपत्र पार्ने समस्या पनि अब हट्ने भएको छ।