काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यही जेठ २३ गते बसेको मन्त्रिपरिषदका निर्णयहरू आज बिहीबार सार्वजनिक गरेका छन् । उनले नियमित पत्रकार सम्मेलनमार्फत सरकारले गरेका महत्वपूर्ण १४ निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारका १४ निर्णय
१. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत ।
२. सार्वजनिक खरिद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत।
३. इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट (लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय।
४. सिरहा भन्सार कार्यालय विस्तारका लागि थप ४ विगाह र ठाढी भन्सार कार्यालय विस्तारका लागि २ विगाह ११ कट्ठा १४ धुर जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्वीकृति प्रदान।
५. विभिन्न अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति–
क. धितोपत्र बोर्डको रजत जयन्ती
ख. शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्ती
ग. वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सतवार्षिक जन्मोत्सव
६. नेपाल–कम्बोडिया व्यापार तथा लगानीसम्बन्धी संरचनात्मक सम्झौता स्वीकृत।
७. काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा न्याय परिषद्को सिफारिशबमोजिम उच्च अदालत, पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय ।
८. जी–टु–जी (सरकार–सरकार) प्रक्रियाबाट भारत सरकारसँग युरिया र डीएपी मल खरिद गर्न स्वीकृति।
९. नेपाल प्रहरी महानगरीय प्रहरी प्रभाग–कमलपोखरी, काठमाडौँलाई हालको का.म.न.पा. मालीगाउँस्थित ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ को भवन÷परिसरमा स्थानान्तरण गरी भोगाधिकार प्रदान गर्ने र सानोठिमी, भक्तपुरस्थित शिक्षा परिसरमा रहेको साविक शैक्षिक जनशक्ति विकास केन्द्रको भवन (हाल राष्ट्रिय युवा परिषद् रहेको भवन) र परिसरको आधामा राष्ट्रिय युवा परिषद् र बाँकीमा ‘शिक्षाका लागि खाद्य कार्यक्रम’को कार्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन।
१०. अध्यागमन कार्यालय, बेलहिया, भैरहवाको र प्लान्ट क्वारेन्टाइन कार्यालयका सरकारी जग्गालाई एकीकृत गरी सो जग्गामा एकीकृत रूपमा अध्यागमन कार्यालय र प्लान्ट क्वारेन्टाइन कार्यालयसमेत रहने गरी भौतिक पूर्वाधार विकास गर्ने निर्णय।
११. राजदूत नियुक्तिका लागि डा. वंशिधर मिश्रलाई बंगलादेश, डा. नारदनाथ भारद्वाजलाई कतार, महेशराज दाहाललाई अष्ट्रेलिया र दावा फुटी शेर्पालाई स्पेनका लागि सिफारिश।
१२. प्रस्तावित नेपाल वन निगम लिमिटेड स्थापना र सञ्चालन गर्न स्वीकृति दिइएको छ ।
१३. एकीकृत स्वास्थ शिक्षासम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति।
१४. संयुक्त अरब इमिरेट्स सरकार र मौरिसस सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्न नेपाल सरकारका तर्फबाट माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई अख्तियारी दिइएको छ ।