धनगढी – धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरू भएको छ। लिटल फ्लावर बोर्डिङ स्कुलले आयोजना गरेको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति कैलालीका उपाध्यक्ष तथा कैलाली जिल्ला क्रिकेट संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि थिए।
प्रतियोगिताका खेलहरू फाप्ला क्रिकेट मैदानमा भइरहेका छन्। टी–२० फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार र उपविजेता हुने टिमले साढे १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टले दुई हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडीले नगद एक/एक हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितालाई धनगढीको चटकपुरमा रहेको ओयसिस कलेज अफ होटेल म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ।
क्रिकेटको विकासमा समर्पित धनगढीको लिटल फ्लावर बोर्डिङ स्कुलले लिटल फ्लावर प्रीमियर लिग (एलपीएल) गर्दै आएको छ। एलपीएलको चौथो संस्करण कार्तिक १३ गतेदेखि शुरू हुँदैछ। एलपीएलको तयारी स्वरूप धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिएको लिटल फ्लावर बोर्डिङ स्कुल प्रिन्सिपल रामचन्द्र शाहीले बताए।