काठमाडौँ – अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ। संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने काँग्रेसको अडानले १५ मिनेटका लागि स्थगित भएकाे बैठक मङ्गलबारसम्मका लागि स्थगित भएकाे हाे।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो।
सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटकपटक बैठक चलाउन खोज्नु भए पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो। निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसकेपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ।
प्रतिनिधि सभाको आज (साेमबार)को बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो। (रासस)