चितवन – पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो।
प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, ध्रुव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो। मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानका आधारमा उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिए।
उनका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानूनी काम नगर्ने गरी छोडिएको हो। प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रङ्गशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। प्रतिबद्धता गरेसँगै उनीहरुलाई प्रहरीले रिहा गरेको हो। उनीहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो।
जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरुले डोजर लगाएर बार भत्काएका थिए। सोही घटनामा पक्राउ परेका अन्य १४ जनालाई जेठ २० गते प्रहरीले हाजिरी जमानीमा छोडेको थियो। (रासस)