दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एकमहिने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाए।
विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए। कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गरे।
गाउँमै बसौँबसाैँ बनाउने कांग्रेसको अभियान अझै पूरा हुन नसकेको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राखे।
जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए। उनले भने, “दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै कांग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीका रूपमा कांग्रेस पुनःजीवित हुने दाबी गरे। वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका दश स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो। (रासस)