काठमाडौँ - नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शुक्रबार) विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गरेका हुन्।
हावाहुरीका कारण २ जनाको मृत्यु र १ सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा भौतिक संरचनाको क्षति एवं जनजीवन प्रभावित भएको घटनाप्रति काँग्रेसले दुःख प्रकट गरेको छ। प्राकृतिक विपद्का कारण अकालमै निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति काँग्रेसले समवेदना प्रकटसमेत गरेको छ।
काँग्रेसले विपदमा परी घाइते भएकालाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीले सञ्चालन गरेको ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’ जेठ २५ मा समापन गर्ने केन्द्रको परिपत्र भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण हुन पुगेको मानवीय र भौतिक क्षतिको संवेदनशीलतालाई आत्मासात् गर्दै समापन कार्यक्रमभन्दा राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको जनाएको छ। (रासस)