काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो। यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नं. ३ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले पुलिसलाई ४२ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा पुलिसले ९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। पुलिसको जितमा पवन सर्राफले अविजित २१ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए। बलिङतर्फ एपिएफका कप्तान वसन्त रेग्मी व्यक्तिगत ३ विकेट लिए भने शरद भेषवाकरले २ विकेट झारे।
त्यसअघि पहिले व्याटिङ गरेको एपिएफले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनायो। एपिएफका कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । शरद भेषवाकरले ७ रन जोड्दा पृथु बास्कोटाले पनि समान ७ रन नै जोडे। यसैगरी अमर सिंह रौटेलाले ६ तथा सन्दीप जोराले ५ रन बनाए।
एपिएफलाई ४१ रनमा समेट्नेक्रममा पुलिसका ललित नारायण राजवंशीले व्यक्तिगत ४ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले समान ३/३ विकेट झारे।
शनिबार हुने फाइनल भिडन्तका विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ।